काठमाडौं, माघ १० । कर्णाली प्रदेश सरकारले १० वटा एम्बुलेन्स किन्ने भएको छ । यसका लागि सरकारले भन्सार छुटका लागि संघीय सरकारसँग माग गरेको छ ।
बुधबार बसेकोे मन्त्रीपरिषद बैठकले प्रदेशका लागि १० वटा एम्बुलेन्स खरिद गर्ने सम्बन्धमा भन्सार छुटका लागि अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो ।
प्रदेशका १० वटै जिल्लाका लागि एम्बुलेन्स खरिद गर्न सामाजिक विकास मन्त्रालयले दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । जनतालाई स्वास्थ्य संस्थासम्म सहज रुपमा पुग्नका लागि एम्बुलेन्स खरिद गर्न लागिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।
‘हामीले कर्णाली प्रदेशका प्रत्येक जिल्लामा एउटा भए पनि एम्बुलेन्स पुर्याउने योजनाकासाथ प्रक्रिया अघि बढाएका हौँ’ उनले भने , ‘यसबाट जनतालाई केहीहदसम्म राहत हुने छ भन्ने अपेक्षा गरेका छौँ ।’ उनले अब संघीय सरकारले भन्सार छुटका लागि सहमति दियो भने टेण्डर आव्हान गर्ने जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद बैैठकले अनुसन्धान ब्यूरोसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान पनि गरेको छ । कानुन मन्त्रालयले नै प्रस्ताव गरेको प्रहरी भवन निर्माण तथा सुधार गृह निर्माण सम्बन्धमा प्रदेश प्रहरीसँग समझदारी गरी कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।
यस्तै बैठकले स्वयंसेवक परिचालनसम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको सामाजिक मन्त्री रावलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्