काठमार्डौ, माघ १० । तीन नम्बर प्रदेश सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शहीदहरुको सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो । बैठकले गएको मंसिर २७ गते नुवाकोटमा मिनीट्रक दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रति परिवार एकरएक लाख दिनेसमेत निर्णय गरेको छ ।
यस्तै, बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको विशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने, नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदानका योजना पठाउने पनि निर्णय गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले पेस गरेको सामूहिक खेती प्रवर्द्धन कार्यक्रम कार्यन्वयन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने, कृषि वन प्रवर्द्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्नेसमेत निर्णय गरेको छ ।
बैठकले सामाजिक विकास मन्त्रालयले पेस गरेको प्रदेश आपतकालीन बाल संरक्षण कोष कार्यविधि २०७५ स्वीकृत गर्ने संघीय सरकार अन्तर्गत ३ नम्बर प्रदेश भित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ चितवनमा रहेका महिला तथा बालबालिका कार्यालयका भवन तथा निर्माणाधीन भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्