काठमाण्डौ, माघ ८ । अहिले सुदूर र मध्य पश्चिममा धेरै ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् शान्ति कँडेलका अनुसार आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन । विशेषगरी दिउँसो पश्चिममा पानी र हिमपात भए पनि राति भने काठमाण्डौसहित मध्य र पूर्वको केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने उनको अनुमान छ । तर ठूलो पानी भने नपर्ने बउनले बताइृन ।
यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने उहाँको अनुमान छ । पानी पर्नुका साथै हिमपात पनि हुने भएकाले मंगलबार र बुधबार पदयात्रामा ननिस्कन मौसमविद् कँडेलको सुझाव छ ।
यस्तै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा पनि सावधानी अपनाउन उनले आग्रह गर्नुभएको छ ।
डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन् ।
डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा करीब चार इन्च बाक्लो हिउँ जमेको छ ।राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बूडरबाट डोजर मगाइ सडक खुलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस वर्ष यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।
प्रतिक्रिया दिनुहोस्