सहुलियत कर्जाका लागि १८ हजार युवाले भरे फाराम

काठमाडौं, माघ ८ । नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जा, ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार वैदेशिक रोजगारमा गइ फर्केका युवाहरुले युवा परियोजना कर्जामार्फत् १० लाख रुपैयाँ पाउनसक्ने व्यवस्था गरिएको छ ।
स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गर्न सरकारले १० लाखसम्म सरल कर्जा दिने भएपछि वैदेशिक रोजगारबाट फर्केका युवाहरुमध्ये वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट १८ हजारजना युवाले ऋणका लागि फाराम भरेको बोर्डले जनाएको छ ।
यस परियोजामार्फत् युवाहरुले ऋण पाउनका लागि विदेश गइ ६ महिना काम गरेकोे र विदेशबाट फर्केको तीन वर्ष ननाघेको हुनुपर्नेछ ।
यस फाराम भर्नका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पौस मसान्तसम्म फाराम भरेर पेस गर्नका लागि सूचना जारी गरेको थियो ।
सो सूचनापश्चात् हालसम्म १८ हजारभन्दा बढीले फाराम भरिसकेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।
तर, फाराम भर्ने काम भने अहिले पनि भइरहेकाले यो संख्या बढ्नसक्ने जनाइएको छ ।
यसरी लिएको ऋणको ब्याजदर बैंकले तोकेको आधार ब्याजदरभन्दा २ प्रतिशतमात्र बढी हुनेछ । जसमा ५ प्रतिशतसम्मको ब्याज सरकारले तिरिदिनेछ ।
यस्तो कर्जाको अवधि ५ वर्षको हुनेछ । यस कर्जामध्ये पुरुषलाई ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशतसम्म ब्याज सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।
यसरी प्रवाह गरिने कर्जाले युवाहरुको उद्यमशीलतामा वृद्धि हुनुको साथै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग हुने सवेदीको भनाइ छ ।
यसरी सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिनेमध्ये सबैभन्दा उच्च ५० प्रतिशत बराबर कृषि कर्जाका लगि रहेको पनि बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्