काठमाडौं, माघ ७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले पहल गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनको उद्घाटन गर्दै उनले चालू आर्थिक वर्षभित्र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरेर मुलुकमा विद्यमान ऊर्जासंकट समाधान गर्ने लक्ष्य सरकारले लिएको बताए ।
उनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।
मन्त्री पुनले चार्टर्ड एकाउन्टेन्टहरुलाई व्यावसायिक हुन र दीगो विकासको लक्ष्य हासिल हुनेगरी लेखापरीक्षणको कामलाई अघि बढाउन पनि सुझाव दिए ।
चार्टर्ड एकाउन्टेन्ट राख्न निर्देशन
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य चार्टर्ड एकाउन्टेन्ट राख्न निर्देशन दिए ।
उनले वित्तीय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्ट नियुक्ति अनिवार्य रहेको प्रस्ट पारे ।
मुलुकमा आर्थिक क्रियाकलाप बढ्दै गएकाले चार्टर्ड एकाउन्टेन्टहरुको माग पनि बढ्दै गएको भन्दै उनले चार्टर्ड एकाउन्टेन्टहरुलाई व्यवसायीमुखी हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्