राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट आज पारित हुने, सम्झौता पालना नभए संसद् अवरोध गर्ने कांग्रेसको चेतावनी

काठमाण्डौ ,माघ ७ ।राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको सोमबारको बैठकमा पेस हुने भएको छ । विधेयकमा आफूसँग सरकारले गरेका सहमति नसमेटिएको भन्दै डाक्टर गोविन्द केसी १३ दिनदेखि अनसनमा बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो ।
आजको बैठकमा विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरेको हो । छलफल पछि सोमबार नै विधेयक पारित गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी रहे पनि टुंगो भने लागिनसकेको संसद सचिवालय श्रोतले जनाएको छ ।
विपक्षी दल नेपाली कांग्रेसले विधेयक पारित गर्न खोजिए संसद बैठक अवरोध गर्ने जनाएको छ । कांग्रेसका मुख्य सचेतक वालकृष्ण खाँडले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेका दुईवटा अस्पताललाई संघीय सरकारको मातहतबाट हटाउने तयारी भइरहेको र डाक्टर केसीसँगको सहमति विपरित तयार पारिएको चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिए संसद बैठक अवरुद्ध गर्ने बताए ।
बाँकेमा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रलाई संघीय सरकारको मातहतबाट हटाउने तयारी गरिएको कांग्रेसको आरोप छ ।
डाक्टर गोविन्द केसीले आफूसँग भएका सहमति जस्ताको त्यस्तै विधेयकमा नसमेटिएसम्म अनसन नतोड्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्