खप्तड गोल्ड कपको उपाधि पुलिस क्लबको पोल्टामा
काठमाडौ, ५ माघ । खप्तड गोल्ड कपको उपाधि पुलिस क्लबले जितेको छ ।
धनगढी रङ्गशालामा भएको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५ को उपाधिको लागि फाइनल प्रतिस्पर्धामा आज पुलिसले रुस्लान थ्री स्टारलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो । पुलिसको जीतमा एक मात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले प्रहार गरेको कर्नरमा अभिषेक रिजालले गोल गरेका थिए ।
खेलमा निर्णायक गोल गरेका फाइन प्रतिस्पर्धाका अभिषेक ‘म्यान अफ दी म्याच‘ बन्दै रु १० हजार पुरस्कार प्राप्त गरे । विजेतासँगै पुलिसले रु २१ लाख पुरस्कार पाएको छ । उपविजेता थ्री स्टारले रु १० लाख पाएको छ ।
पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले मोफसलको प्रतियोगिता जित्ने लक्ष्यसहित खेलिएकाले उपाधि जित्न सफलता मिलेको प्रतिक्रिया दिए ।
यसका साथै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा नेपाल पुलिस क्लबका अनन्तराज थापा, उत्कृष्ट डिफेण्डरमा अजित भण्डारी र उत्कृष्ट गोलरक्षक शत्रुघन चौधरीलाई समेत पुरस्कृत गरियो । उत्कृष्ट मिडफिल्डरमा रुस्लान थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदियमान खेलाडी सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित गरियो ।
प्रतियोगिता अवाधिभर तीन गोल गरेका पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । व्यक्तिगत विधातर्फ सबै विजेतालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोहमा सामाजिक अभियन्ता डा आरजु राणा देउवा, राष्ट्रिय खेलकूद परिषद्का (एन्फा) महासचिब इन्द्रमान तुलाधर, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्