काठमाडौं, ४ माघ । नेपाली सेनाका प्रधानसेनापति मित्रराष्ट्र भारतको औपचारिक भ्रमण पूरा गरी गत बुधबार स्वदेश फिर्ताको सिलसिलामा प्रधान सेनापतिको पोशाकलाई लिएर पूर्व जर्नेल तथा सैनिक विज्ञ एवं अर्काे प्रसंगमा सैन्य मुख्यालय श्रोतको हवाला दिदैँ केही अनलाईन सञ्चारमाध्यमले अनर्गल प्रचार र वास्तविकतालाई तोडमोड गरी प्रकाशित समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।
भ्रमणको सिलसिलामा प्रधान सेनापतिबाट भारतीय सेनाका विभिन्न सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको भ्रमण कार्यालय पोशाकमा भएको र भ्रमण समापन गरी स्वदेश फिर्ता हुने दिन पनि सेन्ट्रल कमाण्डको भ्रमण सम्पन्न गरी कार्यालय पोशाकमा नै स्वदेश फिर्ता भएको कुरा सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै, केही अनलाईन मिडियाले तर्क गरे बमोजिम टोपी (फरेज क्याप) भारतमा छुटेको भन्ने समाचारमा कुनै सत्यता नभएको तथा समाचारमा दाबी गरिए अनुसार प्रधान सेनापति लगायत सम्पूर्ण भ्रमण दलका सदस्य चुस्ता पोशाकमा नभई कार्यालय पोशाकमा नै स्वदेश फिर्ता भएको नेपाली सेना थप प्रष्ट पार्न चाहन्छ, जारी विज्ञप्तिमा भनिएको छ ।
सामान्यतया हवाई यात्राको दौरान सिभिल पोशाक लगाउने र आगमन पश्चात सम्मान गारत कार्यक्रमको लागि सेरेमोनियल (ट्युनिक) पोशाकमा सम्मान गारत लिने विगतको प्रचलन अनुसार नै प्रधान सेनापतिले सम्मान गारत लिनु भएको समेत जानकारी गराएको छ ।
तसर्थ, यसरी वास्तविकता भन्दा भिन्न हुने गरी प्रकाशित भएका भ्रमपूर्ण एवं कसैको पूर्वाग्रहबाट प्रभावित अनर्गल समाचारबाट भ्रममा नपर्न नेपाली सेनाले विज्ञप्ति मार्फत सबैमा अपिल समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्