सुख्खा बन्दरगाह निर्माणको विरोधमा चोभारमा आन्दोलन, २३ प्रदर्शनकारी पक्राउ

काठमाडौं, माघ ३ । राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।
चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापालगायत रहेका छन् ।
चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिवद्धता विपरित बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्याय गर्ने कार्यक्रम तय भएकाले विरोधमा उत्रिनु परेको बताए ।
उनले विद्यमान समस्याको समाधान नभई सुख्खा बन्दरगाह उपयुक्त भए नभएको निर्णयमा पुगिनसकिएको अवस्थामा भूमिगत शैलीमा योजनाको शिलन्याय गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।
स्थानीयको विरोधका कारण प्रधानमन्त्रीले शिलान्याश गर्ने भनिएको सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रम निर्धारित कार्यक्रममा सुरु हुन सकेको छैन । प्रहरी हस्तक्षेपका बीच स्थानीयको आन्दोलन जारी रहेको छ भने चोभार क्षेत्रमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीयले ऐतिहासिक र पर्यटकीय महत्व बोकेको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिनु नहुने अडान राख्दै निरन्तर दवावमूलक आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्