सन्दीप लामिछानेले विकेट लिएको खेलमा सिल्हेटको जित

काठमाडौं, माघ ३ । बंगलादेश प्रिमियर लिग (बिपिएल)  टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले विकेट लिएको खेलमा सिल्हेट सिक्सरले जित हात पारेको छ
सिल्हेटले बुधबार राति सकिएको खेलमा रंगपुर राइडर्सलाई २७ रनले हरायो। सिल्हेटले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको रंगपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र जोड्न सक्यो। रंगपुरका लागि कप्तान मास्रफी मोर्ताजाले नटआउट ३३ र रिली रोस्सोले ५८ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा सिल्हेटका मेहदी हसन मिराज र टक्सिन अहमेदले २–२ विकेट लिए। सन्दीप लामिछाने र सोहिल तनविरले १–१ विकेट लिए। अघिल्लो खेलमा टिममा नपरेका सन्दीपले ४ ओभरमा १८ रन खर्चिए।
त्यसअघि सिल्हेटले २० ‌ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन जोड्यो। उसका लागि ओपनर लिन्टन दासले ४३ बलमा ९ चौका र १ छक्का हिर्काउदै ७० रन जोडे। कप्तान डेभिड वार्नरले ६१ रनको योगदान गरे।
जितसँगै सिल्हेट ५ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको पुछार स्थान छाड्न सफल भयो। सिल्हेट पुछारबाट दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्