काठमाडौं, माघ २ । ओमानमा कार्यरत नेपाली महिलाले घरेलु कामदारको पुन : श्रम स्वीकृति खोलिदिन सरकारसँग आग्रह गरेका छन् ।
उनीहरुले आफूहरु वर्षौदेखि सुरक्षित रुपमा काम गरिरहेपनि सरकारले रोक लगाएका कारण घर जान नपाएको भन्दै पुन स् श्रम स्वीकृति खोलिदिन दूतावासमार्फत सरकारसँग आग्रह गरहेका हुन् ।
नेपाली दूतावास ओमानले घरेलु महिला कामदारसँग गरेको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन्
‘१९ बर्ष देखी म ओमानमा काम गर्छु, मेरै कमाइले मेरो परिवार धानीएको छ, तर म त्यही परिवार भेट्न नेपाल जान पाएकी छैैन’ झापाकी शारदा तिवारीले भनिन्।
वर्षमा एक पटक बिदा पाउने भएपनि फर्किएर आउन नपाउने भएकाले नेपाल नगएको उनको भनाई छ। अर्की झापाकै मेनुका बाँस्तोलाको गुनासो पनि उस्तै थियो । उनीले पनि घर फर्किन पाएकी छैनन् ।
ओमान एकता समाजकी मन्जु बानियाले घरमा काम गर्ने भएपनि सुरक्षित रहेको, कमाइ पनि राम्रो रहेको भन्दै नेपाल गएर फर्किन नसक्ने भएकाले हजारौं महिला विभिन्न देशमै अड्किएको बताईन ।
८ बर्षदेखि आफूले पनि घरेलु महिला कामदारको रुपमा काम गरिरहेका भन्दै बर्दियाका बानियाँले प्रश्न गरिन् ‘गरिखान्छौं भन्दा पनि हाम्रो श्रम स्वीकृती किन नहुने ?’
घरेलु कामदारको रुपमा नयाँ आउने महिलालाई दुई देशबीच सम्झौता गरेर मात्रै ल्याएपनि बषौंदेखि कार्यरत महिलाको हकमा पुन स् श्रम स्वीकृति गर्ने व्यवस्था गरिदिन उनले सरकारसँग् आग्रह गरिन ।
जवाफमा ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले महिलाले उठाएका माग जायज भएको र त्यसको समिक्षात्मक रिपोर्ट सरकारलाई पठाउने बताईन ।
दूतावास सबैको अभिभावक भएकाले महिलाहरुका कुरा सुन्न महिलालाई मात्रै लक्षित गरेर कार्यक्रम राखेको राजदूत पराजुलीले बताईन ।
प्रतिक्रिया दिनुहोस्