बारको चुनावका लागि सरगर्मी बढ्यो, डिएलएद्वारा उम्मेदवार छनोट समिति गठन

काठमाडौं, माघ २ । नेपाल बार एशोसिएशनमा चुनावी सरगर्मी बढेको छ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिदै गर्दा आकांक्षीहरुको गृहकार्य तीब्र हुन थालेको छ।
देशव्यापी रुपमा आकांक्षीहरुले चुनावी तयारीलाई तीब्र पारेपछि बारको निर्वाचनको चहलपहल पनि बढ्न थालेको हो। आगामी चैत्र १६ गते शनिबार बारको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि कानुन व्यवसायीहरुले उम्मेदवारी घोषणा पनि गर्न थालेका छन्।
निर्वाचनका लागि बृहद लोकतन्त्रवादी समूह गठन गरी उमेदवार तय गर्न भन्दै नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले आफ्नो विधानअनुसार उम्मेदवार छनोट समिति गठन गरेको छ।
डिएलएका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छनोट समितिकी सदस्यसचिव तथा डिएलएकी महासचिव लक्ष्मीदेवी दाहाल रावलले जानकारी दिइन्।
समितिका अन्य सदस्यहरुमा बारका पूर्व अध्यक्षद्धय तथा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, डिएलएका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उपेन्द्रकेसरी न्यौपाने, वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, वरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापा, बारका बर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डिएलएका निवर्तमान अध्यक्ष भरत प्रसाद खरेल, वर्तमान अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, अधिवक्ता सिताराम राई, अधिवक्ता विनय सिंह, अनिता जोशी मानन्धर रहेका छन्।
समितिले चाँडै नै उम्मेदवारहरुको छनोट गर्ने र अन्य संगठनमा आवद्ध कानुन व्यवसायीहरुसँग पनि गठबन्धन गर्नका लागि गृहकार्य गर्ने जनाइएको छ।
डिएलएले आकांक्षीहरुलाई आफ्नो दावेदारी पेस गर्न यसअघिनै आह्वान गरिसकेकाले आकांक्षीहरुको सूची बनिसकेको छ। बत्यही सूचीका आधारमा छनोट समितिले उम्मेदवारहरु छनोट गर्ने डिएलएले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्