काठमाडौं, माघ २ । थाइल्याण्डमा जारी टी–२० महिला स्म्याश क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी समान अंक भए पनि रन रेटमा पछि पर्दै यूएइले पनि सेमिफाइनलमा स्थान बनाएको हो । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’लाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको जितमा नेरी थापा ५ तथा डोली भट्ट २ रनमा नट आउट रहे । यस्तै ममता कुमारी चौधरी ८ रन बनाएर आउट भइन् ।
टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १९ रन बनाएको हो ।
थाइल्याण्ड ‘ए’ का कुनै पनि खेलाडीले नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । थाइल्याण्डका लागि थानचोनक फोपुलुक सर्वाधिक ४ रनमा नटआउट रहँदा वार्ली सेनसङले ३ तथा मनातासेवै जेटोले २ रन बनाइन् ।
खाता नखोल्दै पहिलो विकेट गुमाएको थाइल्याण्डले २ रन जोड्दा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ८ रनको साझेदारी गर्दै स्कोर बोर्डमा १० रन पुग्दा तेस्रो देखि छैटौँ विकेट गुमाउन पुग्यो । ११ रन बनाउँदा सातौँ विकेट गुमाएको थाइल्याण्डले १५ रनमा आठौँ र नवौँ विकेट गुमाएको थियो ।
सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले थाइल्याण्डलाई १९ रनमा रोक्दा नेपाली बलरहरु आरती विडारीले ३ तथा इन्दु बर्मा र सरिता मगरले दुई–दुई विकेट लिँदा रुबिना क्षेत्री, सीता राना मगर र सोनु खड्काले एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्