तुलसीपुरमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण, बुढाबुढी हर्षित

काठमाडौं, पुस ३० । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ ले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडामा वसोवास गर्ने दलितको हकमा ८० र अन्य जातिको हकमा ८४ वर्ष पुरा गरेका ज्येष्ठ नागरिकलाई वडाले न्यानो कपडा वितरण गरेको हो ।

वडामा रहेका १५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष नवराज लामिछानेले जानकारी दिए । उनले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्नका लागि न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको समेत जानकारी गराए । “समाजका लागि ज्येष्ठ नागरिकको योगदानलाई कदर गरेर हामीले यो कार्यक्रम ल्याएका हौँ” लामिछानेले वताए ।
वडाध्यक्ष लामिछानेका अनुसार वडा कार्यालयमा आउन नसक्ने असक्तहरुलाई घरमै गएर न्यानो कपडा वितरण गरिएको छ ।

९४ वर्षिय छविलाल रेग्मी वडाले घरमै आएर न्यानो कपडा वितरण गरेकोमा निकै खुसी छन् । “वुढेसकाल घरमै आएर न्यानो कपडा दिनुभयो साह्रै खुसी लागेको छ ” रेग्मीले भने । उनीजस्तै ९० वर्षिय कृष्णाकुमारी लामिछाने पनि न्यानो कपडा पाउँदा हर्षित छिन् । वडाले सानो भएपनि आफुहरुलाई सम्मान गरेर न्यानो कपडा वितरण गरेकोमा उनले खुसी व्यक्त गरिन् । वडा सदस्य दुजमान भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव मुक्ति खनालले गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा रहेको ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा वितरण सुरु गरेपछि सबैमा उत्साह छाएको हो । उपमहानगरपालिकाका १९ वटै वडामा पुस मसान्त भित्रमा न्यानो कपडा वितरणको कार्यक्रम सकिएको पनि उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्