२९७ औं पृथ्वी जन्मजयन्ती आज मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना

काठमाडौं, पुस २७ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।
यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । यसवर्ष पनि जनस्तरबाट भव्यताका साथ यो दिवस मनाईदै छ ।
यसैबीच पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुमकामना सन्देश जारी गरेका छन् ।
राष्ट्रपति भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा अंकित रहेको भन्दै हाम्रा पुर्खाको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शीर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको बताएकी छन् ।
उनले शुभकामना सन्देशमा देश एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न नसकिने र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव नभएको बताएकी छन् । नेपाल एकीकरण अभियानका सूत्रधार र नेतृत्वकर्ता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाएको उनले स्मरण गरेकी छन् ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सामयिक संकल्प पूरा गर्न पृथ्वीनारायण शाहको भनाइ प्रेरणादायी हुने विश्वाससमेत उनले व्यक्त गरेकी छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश दिँदै राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको भन्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । उनले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्