आयल निगमले हवाई इन्धनको मूल्य घटायो , घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुने Jagaran News Published On : 10 January, 2019 9:09 am काठमाडौं, पुस २६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर घटाएको छ । घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ । घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो । यसैबीच निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका बिकृति, बिसंगतिको अन्त्य गर्दै निगमका हरेक गतिविधिलाई पारदर्शी बताउने प्रतिवद्धता जनाए । बिहीबार निगमको ४८ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निगमलाई यही अवस्थामा नरहन नदिने योजना पनि अघि सारे । निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने नवनियुक्त कार्यकारी निर्देशक पौडेलको भनाई छ । उनले गएको आर्थिक वर्षमा मात्रै निगमले ५५ अर्ब रुपैयाँ राजस्व तिरेको पनि जानकारी गराए । कार्यकारी निर्देशक पौडेलले बुढिगण्डकी जलविद्युत आयोजनाका लागि २७ अर्ब रुपैयाँ संकलन गरिएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्