अब कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा पुस्तकालय

काठमाडौं, पुस २६ । प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजनाबमोजिम प्रदेश सरकारले बुधबार जुम्ला कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन अभियान सुरु गरेकोे हो।
‘कारागारका बन्दीको अर्को संसार कहाँ छ? त्यो संसार किताबमा छ’ भन्ने मूल नाराका साथ काम अघि बढाइएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए।
प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन्।
कर्णालीकै १० जिल्लामध्ये पहिलो जिल्लाका रुपमा जुम्लामा यो अभियान सुरु गरिएको उल्लेख गरिएको हो।
‘कैदी–बन्दीलाई अपराधीका रुपमा मात्र व्यवहार गरिँदा उनीहरुले आफूलाई हिनताबोध भएको महसुस गर्ने र कारागारबाट निस्केपछि पुनः आपराधिक क्रियाकलापमै संलग्न हुनसक्छन्, त्यसैले यस्ता गतिविधिलाई निरुत्साहित गर्न कला, साहित्य, सफल जिन्दगीका कथा, आमसञ्चार, मानवअधिकार, कानुनलगायत पुस्तकहरु अध्ययन गर्न दिँदा बौद्धिक विकास हुने अपेक्षा गरिएको छ’, रिजालले भने।
‘किताब पढौं, जीवनलाई बदलौं, चाहेर वा नचाहेर गल्ती गर्दा, कारागारमा बन्दी हुन पुगेकालाई कारागारपछिको जीवनमा पनि केही गर्न सकिन्छ, कारागारको जीवन मात्र अन्त्य होइन’ भन्ने कुराको विकास गराउन यो अभियान थालिएको सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्रप्रसाद श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस्