काठमाडौं, पुस २५ । सभामुख कृष्णबहादुर महराले सार्वजनिक महत्वको वक्तव्य दिएपछि सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले संसद नियमावलीको धारा २१९ को उपधारा १ र २ बमोजिम सांसदले प्रश्न सोध्ने अधिकार सुरक्षित गर्न सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन् ।
त्यसअघि, बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री र मन्त्रीहरुले वक्तव्य दिएपछि सांसदले उठाएको प्रश्नको जवाफ नदिने यसअघिकै शैली कायम राखे आगामी दिनमा संसद अवरुद्ध गर्ने चेतावनी दिए ।
प्रमुख सचेतक खाँणले प्रतिपक्षीले अवरोध गर्दागर्दै संसद चलाउनु संसदीय मर्यादाको विपरीत रहेको भन्दै आफूहरुको माग पूरा नभए संसद चल्न नदिने बताए ।
सरकारविरुद्ध प्रस्तुत् हुने चेतावनी
बैठकमा राष्ट्रिय जनता पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले मधेस–थरुहट आन्दोलनमा भएको दमनका दोषीहरु छानबिन गर्न गठित गिरिशचन्द्र लाल समितिको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सरकारविरुद्ध प्रस्तुत् हुने चेतावनी दिए ।
विधेयक प्रस्तुत्
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ प्रस्तुत् गरेका छन् ।
यस्तै, बैठकले प्रशासकीय अदालत विधेयक, २०७५ र केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्