काठमाडौं, पुस २३ । सांसद पदको सपथ लिएको चौथो दिन टीकापुर घट्नाका अभियुक्त रेशमलाल चौधरीको मुद्दाको पेशी तोकिएको छ । उनको मुद्दा ईश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा परेको छ ।
सांसद चौधरीले १९ पुसमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथपछि उनी डिल्लीबजार कारागारमै फर्किएका थिए ।
चौधरी वारेसमार्फत उम्मेदवारी दर्ता गराएर २०७४ को आमनिर्वाचनमा कैलाली–१ बाट सांसद निर्वा्चित भएका हुन ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ । यही मुद्दामा लक्ष्मण थारु सहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।
राजपा नेपालले पटकपटक प्रधानमन्त्री केपी ओलीलाई चौधरीको सपथका लागि दबाब दिँदै आएको थियो। सोही दबाबका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्