काठमाडौं, पुस २३ । सरकारले उखुको मूल्य तोके पनि उखु किसान र मिल संचालकबीच फेरि विवाद बढेको छ ।
किसान र मिल सञ्चालकबीचको विवाद फेरि सतहमा आएको छ । किसानको गुनासो सम्बोधन गर्न सरकारले तोकेको मूल्यप्रति चिनी उद्योगी असन्तुष्ट देखिएपछि विवाद कायमै रहेको हो ।
उद्योगी र किसानका आ–आफ्नै अडानले उखु क्रसिङमा समस्या देखिएको छ ।गत बिहीबार सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३० रुपैयाँ तोकेको छ । तर त्यसप्रति उद्योगी व्यवसायी भने असन्तुष्ट बनेका छन् ।
सरकारले मूल्य तोकेपछि उखु किसानको आन्दोलन र गुनासो मत्थर हुने अपेक्षा गरिएको थियो ।
तर सरकारले तोकेको मूल्य असन्तुलित र अत्याधिक भएको भन्दै चिनी उद्योगी असहमत भएपछि विवाद ज्यूँकात्यूँ छ ।
उद्योगीले प्रतिक्विन्टल ३ सय ८५ रुपैयाँ मात्र दिन सक्ने भएपछि उद्योगी र किसानबीच उखुको मूल्यको बिषयमा विवाद वढेको हो ।
किसानहरु भने सरकारले तोकेको मूल्यमा मात्र उखु बिक्री गर्ने अडान राख्दै आएका छन् ।
मोरङ र सुनसरीका २ हजार ४ सय कृषकले सुनसरीको बर्जु गाउपालिकामा रहेको स्टर्न सुँगर मिलमा उखु बिक्री गदै आएका छन ।
तर यो बर्ष मिल घाटामा गएको भन्दै उद्यागीले सरकारले निर्धारण गरेको मूल्यमा किसानको उखु किन्न नसकिने बताएका छन् ।
मोरङ र सुनसरीमा गत वर्ष प्रतिक्विन्टल ४ सय ३६ रुपैयाँका दरले किसानले उखु बिक्री गरेका थिए ।
तर यो बर्ष भने उद्योगीले किसानलाई प्रतिक्विन्टल ३ सय ८५ रुपैयामा बिक्री गर्न दबाब दिइरहेका छन् ।
मिल सञ्चालकले गत वर्षभन्दा कम मूल्यमा उखु खरिद गर्न चाहेका छन् भने किसानले भने सरकारले तोकेकै मूल्यमा बिक्री गर्ने अडान राखेका कारण विवाद कायमै छ ।
प्रतिक्रिया दिनुहोस्