रेडपाण्डाको छालासहित दुईजना पक्राउ, प्राचीन बौद्धमूर्ति चोर्ने चारजना डोल्पाबाट समातिए

काठमाडौँ,पुस २३ । रेडपाण्डाको छालासहित जाजरकोटका दुई युवा प्रक्राउ परेका छन् । नलगाड नगरपालिका – ५ कालिमाटीका २५ वर्षीय गणेश सुनार र त्यही ठाँउका २५ वर्षीय युवराज विकलाई जिल्ला प्रहरी कार्यालयको नियमित गस्ती टोलीले आइतबार पक्राउ गरेको हो ।
सदरमुकाम खलंगा बजारमा जाँच गर्ने क्रममा रेडपाण्डाको छालासहित दुईजना पक्राउ परेको जाजरकोटका प्रहरी निरीक्षक लोक बहादुर विष्टले जानकारी दिनुभयो । प्रहरीले प्रक्राउ परेका दुईजनालाई नै जिल्ला वन कार्यालयको जिम्मा लगाएको जनाएको छ ।
वन कार्यालयले दूर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अंगहरु गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दूर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को छालाको व्यापार गर्ने कार्यमा संलग्न दुईजनाविरुद्ध मुद्धा चलाउने तयारी गरेको छ ।
आवश्यक अनुसन्धानका लागि वन कार्यालयले सहायक वन अधिकृत पूर्ण प्र्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाएको जिल्ला वन अधिकृत मन्जुर अहमतले जानकारी दिए ।

उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाबाट बहुमूल्य बौद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका चार जनालाई डोल्पा प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

सदरमुकाम दुनैदेखि उत्तरी सीमावर्ती क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाबाट बौद्धमूर्ति चोरीको आरोपमा सोही गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पो बुद्ध गाउँपालिका– १ बस्ने ४१ वर्षीय झ्याम्पा छुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र ४३ वर्षीया पासाङ लुण्डुप गुरुङलाई डोल्पा प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ परेका मध्ये झ्याम्पा छुल्डिम लामाबाट रु एक लाख र बौद्ध भाषामा लेखिएको आठ हरफको एक बौद्धलिपिसमेत केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको जिप्रका डोल्पाले जनाएको छ । शे–फोक्सुण्डो गाउँपालिका वडा नं ४ मा रहेको राहापगुम्बाबाट यसै वर्षको गत असोज ३१ गते ४२ थान प्राचीन बौद्धमूर्ति चोरी भएका थिए । सार्वजनिक गरिएका चारै जना उपल्लो डोल्पाका भएको प्रहरीले जनाएको छ ।
स्थानीयले दिएको गोप्य सूचनाका आधारमा चोरीमा संलग्न उक्रेन पासाङ गुरुङलगायतका व्यक्ति काठमाडौँ भएको थाहा भएपछि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बौद्धबाट पक्राउ गरेर डोल्पा पु¥याइएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अबदेश विष्टले जानकारी दिनुभयो ।
चोरी भएका बौद्ध मूर्ति कहाँ कसरी बिक्री गरिएको छ भन्नेबारे अनुसन्धान भइरहेकाले अहिले नै भन्न नमिल्नेसमेत विष्टले जानकारी दिए ।
प्रहरीले चोरीमा संलग्न व्यक्ति पक्राउ गरे पनि हराएका मूर्ति भने फेला पार्न सकेको छैन । उपल्लो डोल्पाका शे–गुम्बा, रे–गुम्बा, मिखिम गुम्बा, गाँकर गुम्बा, बोन गुम्बालगायतका दर्जनौँ गुम्बाबाट प्रत्येक वर्ष मूर्ति चोरी हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्