काठमाडौँ, पुस २२ । प्रहरीले रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाडेगाउँस्थित आश्रम क्षेत्र उत्खनन् गर्दा नुनको प्याकेटका ९ वटा खोल फेला पारेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आश्रमबाट करिब तीन सय मिटर पर ती खोल बरामद गरेको हो। खोल पाइएका स्थानमा कोइलाको अवशेष पनि भेटिएको खबर आजको कान्तिपुर दैनिकमा लेखीएको छ ।
तपस्वी भनिएका बम्जनको आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ। प्रहरीले वाइबाको खोजी गर्ने क्रममा नुनको खोल भेटिएपछि हत्याको आशंका गरिएको हो।
‘आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा हड्डी पाएको छैन’ अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भने, ‘शव अन्यत्रै लगेर जलाइएको हुनसक्छ।’
सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए। लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो। त्यसपछि शुक्रबार नै प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो।
सञ्चलालका छोराले आफ्नो बुवालाई कुटेर मारेको आरोप लगाएका छन्।
वाइबाको खोजीका लागि साता दिन अघिदेखि विशेष अनुसन्धान टोली खटाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्