के होला मनाङेको शपथ ?

काठमाडौं, पुस २१ ।  रेशम चौधरीको शपथसँगै दीपक मनाङे भनिने राजीव गुरुङको शपथ के होला भन्ने बहस सुरु भएको छ ।
संघीय कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले शपथ लिएपछि गण्डकी प्रदेशबाट निर्वाचित दीपक मनाङेको शपथबारे चर्चा सुरु भएको हो ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभातर्फ प्रत्यक्षमा निर्वाचित चौधरीले बुधबार शपथ लिएसँगै पुनः जेल गएका छन् ।
डिल्लीबजारमा रहेका मनाङे ६ पुसमा सर्वोेच्चबाट तारेखमा रिहा भएका हुन् । आफू रिहा भएलगत्तै उनले शपथका लागि गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन बुझाएका थिए । ज्यान मार्ने उद्योगको मुद्दा पुनरावेदन हुने र हाल थुनाबाहिर रहेकाले मनाङेले प्रदेश सांसदका रूपमा शपथ लिन पाउनुपर्ने माग गर्दै निवेदनसमेत दिएको झन्डै साता दिन पुगिसकेको छ ।
मनाङे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोेच्चबाट फैसला आइनसकेकाले शपथ लिन पाउनुपर्ने तर्क उनी पक्षधरको दाबी छ ।यता, गण्डकी प्रदेशको प्रदेशसभा नियमावलीमा फौजदारी कसुरमा दोषी ठहर भएकालाई शपथ रोक्ने वा खुला गर्ने कुनै स्पष्ट व्यवस्था छैन । नियमावलीमा बिनाजानकारी लगातार १० बैठकमा अनुपस्थित हुने सांसदको पद स्वतः खारेज हुने उल्लेख छ ।
यसैबीच, उनको शपथबारे २२ पुसमा बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने बताइएको छ । सभामुख नेत्रनाथ अधिकारीका स्वकीय सचिव लोकराज आचार्यका अनुसार बैठकले उनको शपथ हुने वा नहुने भन्ने निर्णय गर्नेछ । प्रदेशसभाको अधिवेशन त्यसको भोलिपल्ट २३ पुसमा बस्दै छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्