काठमाडौँ, पुस २० । शुक्रवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्षका सांसदहरुले वाइडबडी विमान खरिद प्रकरणबारे बनाइएको प्रतिवेदन सच्याउन माग गरेका छन् ।
प्रतिवेदन प्राकृतिक न्यायको सिद्धान्तविपरित रहेको र अघिल्ला मन्त्रीहरूलाई जोगाएर पछिल्लो मन्त्रीमाथी दोष थोपरेको उनीहरुको दाबी छ ।
सांसद हृदयेश त्रिपाठीले वाइडबडी खरिद प्रक्रियामा वायुसेवा निगममा छानविन गर्ने हो भने पिउनबाहेक कोही बाँकी नरहने चेतावनी दिए ।
बैठकमा बोल्दै त्रिपाठीले निगमको विमान खरिद उपसमितिमाथि पनि छानबिन गर्ने हो भने अरु पदाधिकारी पनि यो प्रकरणमा तानिनसक्ने बताए ।
उनले निगम डुब्यो भने नागरिक लगानी कोष कर्मचारी सञ्चयकोष पनि डुब्ने अवस्था रहेको भन्दै कुनै पनि सस्थानको जसअपजस सञ्चालक समितिले नै लिनुपर्ने धारणा राखे ।
उनले उपसमितिले बनाएको प्रतिबेदनमा पहिलो,दोस्रो र तेस्रो मन्त्रीलाई कारवाही सिफारिसमा भाषामा कमजोरी राखेको बताए ।
उनले मन्त्री रवीन्द्र अधिकारिको बचाउ गर्दै अघिल्ला मन्त्रीहरु बढी जिम्मेवार रहेको दावी समेत गरे ।
यस्तै नेकपाका सांसद विशाल भट्टराईले छानविन उप–समितिको प्रतिवेदन समितिमा पेस नहुँदै संवेदनशीलता नबुझी किन मिडियामा सार्वजनिक गरियो ?,’ भन्दै प्रश्न गरे ।
उनले प्रतिवेदन अपुरो रहेको दाबी समेत गरे । ‘अघिल्ला मन्त्रीहरूलाई चोख्याउन खोजेको र पछिल्ला मन्त्रीलाई मात्रै कारवाही सिफारिस भएकाले यो सच्याउनुपर्छ,’ भट्टराईले भने ।
यस्तै नेकपाका अर्का सांसद सूर्य पाठकले वर्तमान पर्यटनमन्त्रीको बचाऊ गर्दै जो मान्छे बैना पट्टामा सहभागी छैन, सम्झौता र रकम दिने प्रक्रियामा छैन, उसलाइ किन कारबाही गर्ने भन्दै प्रश्न गरे । उनले पनि प्रतिवेदन अपुरो रहेको भन्दै सच्याउन माग गरे ।
यस्तै सांसद पार्वती बिसङ्खेले समान दोष लागाइएकाहरुलाई किन फरक–फरक कारवाही सिफारिस गरेको भन्दै प्रश्न गरिन् । उनले समितिले बनाएको प्रतिवेदन प्राकृतिक न्यायको सिद्दान्त बिपरित भएको दावी पनि गरिन् ।
प्रतिक्रिया दिनुहोस्