रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकियो

काठमाडौ पुष २० । रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको हो । भिल्लारियलका लागि सान्टी कार्जोलाले दुई गोल गरे । यता, रियलका लागि भने करिम बेन्जिमा र राफेयल भरानेले गोल गरे ।

खेलको चौथो मिनेटमा नै कार्जोलाले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । खेलको सातौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई १–१ गोलको बराबरीमा पुर्याए । २०औं मिनेटमा रियल मड्रिडले अर्को गोल थप्दै २–१ गोलको अग्रता बनायो । यो पटक भने भरानेले गोल गरेका थिए ।

खेलको ८२औं मिनेटमा कार्जोलाले ब्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियललाई २–२ गोलको बराबरीमा पुर्याए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

लिगको चौथो स्थानमा रहेको रियल मड्रिडको १७ खेलबाट ३० अंक भएको छ । बराबरी खेलेको सेभिल्ला ३२ अंकको साथमा लिगको तेस्रो स्थानमा छ । यता, समान खेलबाट भिल्लारियलले १६ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १७ खेलबाट ३७ अंक हुदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ३४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्