नेपाल दूरसञ्चार प्राधिकरणको निमित्त प्रमुखमा पुरुषोत्तम खनाल

काठमाडौं, १९ पुस । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका प्रशासन तथा अनुमति शाखाका प्रमुख पुरुषोत्तम खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिईएको छ ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्राधिकरणमा अध्यक्ष पछि दोस्रो बरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालयल तानेर तेस्रो वरिष्ठ निर्देशक एवं प्रशासन तथा अनुमति शाखा प्रमुख रहेका खनाललाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले बुधबार खनाललाई प्रशासनिक र आर्थिक अधिकार प्रयोग गर्ने गरी कार्यालय प्रमुख तोकिएको पत्र दिएको छ । ‘प्राधिकरणको प्रशासनिक र आर्थिक अधिकार प्रयोग गर्ने गरी निमित्त कार्यलय प्रमुखको जिम्मेवारी बुधबार मन्त्रालयले दिएको छ,’ नवनियुक्त निमित्त प्रमुख खनालले बताउनु भयो ।

उहाँले प्राधिकरणको अध्यक्षले प्रयोग गर्ने अधिकार सरहको अधिकार प्रयोग गरी दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न पाउनेछन् । योसँगै प्राधिकरणको बार्षिक कार्यक्रमहरु पनि खनालले कार्यान्वयन गर्न सक्नेछन् ।
त्यसबाहेक, अदालतमा प्राधिकरणको तर्फबाट कुनै विषयका मुद्धाको प्रतिरक्षा गर्ने अधिकार पनि खनालले प्रयोग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्