काठमाडौं पुस १९ । नुवाकोटमा रहेको त्रिशुली जलविद्युत केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत उत्पादन बन्द भएको छ।
२१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा यहाँबाट ३५ मेगावाट विद्युत जोडिन बन्द भएको हो।
बुधबार साँझ ६ः३० बजेतिर उत्पादन भएको विद्युत प्रवाह हुने ‘बसबार’मा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नम्बर ६ मा रहेको ६ दशमलब ६ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए।
उनका अनुसार आगलागीले क्षति पुर्याएका उपकरण मर्मत र परिवर्तन गर्न १ करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ। जलेका सामाग्री मर्मत तथा परिवर्तन गरी उत्पादन थाल्न करीब एक साता लाग्ने अनुमान आयोजनाले गरेको छ।
उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घन्टाभन्दा बढी समय लागेको थियो।
आगलागीका कारण उक्त केन्द्रबाट विद्युत उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत सेवा बन्द भएकाले राष्ट्रिय प्रसारण लाइनमार्फत गए रातिदेखि विद्युत उपलब्ध गराइएको छ।
उक्त उत्पादन गृहमा गत असार २६ र मङ्सिर ८ गते पनि आगलागी भएको थियो।
प्रतिक्रिया दिनुहोस्