सन्दीप बिपिएलका लागि बंगलादेश तर्फ लागे, किन छोडे बिचमै बिग बास? यस्तो छ कारण

काठमाडौं, पुस १८ । अस्ट्रेलियाको क्रिकेट लिग बिग बासमा राम्रो प्रदर्शन गरेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा चुलिएको छ । इन्डियन प्रिमियर लिग ९आइपिएल० खेलिसकेका सन्दीपले बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका छन् ।

उनको टिमले मंगलबार भएको खेलमा मेलबर्न रेनेगेड्सलाई सात विकेटले हरायो सुरुका दुई खेलमा पराजित भएको सन्दीपको टिम त्यसपछिका दुई खेलमा विजयी भएको छ । उनको टिम तेस्रो स्थानमा छ । सन्दीपले मंगलबारको खेलमा एक विकेट लिए । उनले यसअघिका तीन खेलमा उनले सात विकेट लिएका थिए ।

बिग बास लिगमा आफ्नो उत्कृष्ट क्रिकेट कौशल देखाएका सन्दीप बुधबार बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेश प्रिमियर लिग खेल्नका लागि उनी बिग बास लिग बिचमै छोडेर बंगलादेशका तर्फ लागेका हुन् ।
जनवरी पाँचदेखि सुरु हुने बंगलादेश प्रिमियर लिग ९बिपिएल० क्रिकेटमा सन्दीपले स्यलहेट सिक्सर्सबाट खेल्ने छन् । यो टिमको कप्तान अस्ट्रेलियन क्रिकेटर डेविड वार्नर हुन् । बिपिएलमा सन्दीपको टिमले जनवरी ६ मा तमिम इक्बालको कप्तानीमा रहेको टिम कोमिल्ला भिक्टोरिएन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सन्दीपले बिपिएल टिम स्यलहेट सिक्सर्ससँग पहिले नै सम्झौता गरेकाले बिग बास लिग बिचमै छोडेर उनी बंगलादेश लागेका हुन् । सन्दीपले बिग बास क्लब मेलबर्न स्टार्सलाई यो जानकारी दिएर नै खेल्न गएका हुन् ।

सन्दीपले ट्वीट गरेर आफू बंगलादेश प्रस्थान गरेको जानकारी दिएका छन् । उनले बिग बास लिगको अनुभव उत्कृष्ट रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्