काठमाडौं, पुस १८ । गरिबी निवारण कोषमा करारमा कार्यरत ८० जना कर्मचारी बिदा भएका छन् । कोषले उनीहरुलाई एकैपटक बिदा गरेको हो ।
सरकारले गरिबी निवारण कोषलाई पुनर्संरचना गर्ने नीति ल्याएकाले सो बमोजिम सबै कर्मचारीलाई समारोह नै गरेर बिदाइ गरिएको कोषले जनाएको छ ।
बिदाइ समारोहमा कोषका उपाध्यक्ष निर्मल भट्टराई र कार्यकारी निर्देशक एवं नेपाल सरकारका सहसचिव छवि रिजालले बिदाइ हुने सबै कर्मचारीलाई कदरपत्र, मायाको चिनो र नेपाली खादा प्रदान गरी बिदाइ गरे ।
बिदाइ कार्यक्रममा कोषका उपाध्यक्ष भट्टराईले नयाँ राजनीतिक, आर्थिक र सामाजिक परिवेशमा गरिबी निवारणसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमको पुनर्संरचना गर्नुपर्ने भएकोले कोषको पुनर्संरचना थालिएको जानकारी दिए ।
उनले कोष नेपालको गरिबी हटाउनका लागि कार्यरत रहेको भए पनि यसले ग्रामीण क्षेत्रका जनताका हितमा गरेका कामलाई वेवास्ता गरेर गर्दै नगरेका नराम्रा कामको प्रचार प्रसार भएको भन्दै संचारमाध्यमप्रति गुनासोसमेत गरेका छन् ।
कोषका कार्यकारी निर्देशक छवि रिजालले बिदाइ हुने कर्मचारीलाई कोषको विनियम अनुसार पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा जति सक्दो चाँडो उपलब्ध गराउने बताएका छन् ।
०६९ जेठमा स्थापना भएको कोष हाल ६२ जिल्लाका कार्यरत छ । कोषमा विश्व बैंकले आर्थिक सहयोग गर्दै आएकोमा हाल आएर उक्त सहयोग रोकिएकाले कोषबाट सेवा सुविधा लिँदै आएका कर्मचारीलाई बिदाइ गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्