काँकडभिट्टा नाकाबाट एक वर्षमा २४ महिलाको उद्धार

काठमाडौं, पुस १८ । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ।
काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो। सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २ सय ५९ जनालाई सीमा नाका काँकडभिट्टाबाट फिर्ता पठाइएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए।
त्यस्तै संस्थाले ९१ जनालाई सीमा नाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो। बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार १ सय १३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले जानकारी दिए।
वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८ सय ६९ किशोरीलाई सुरक्षित बसाइसराइबारे अवगत गराइएको छ। कार्यालयमा किशोरी तथा महिला हराएको १ सय ७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ।
प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखनका तीन तथा जबर्जस्ती करणीका पाँच मुद्दा दर्ता गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्