थानकोट–नागढुङ्गा सुरुङमार्ग : छ कम्पनीले भरे बोलपत्र, एक अर्ब ६७ करोड रुपियाँ विनियोजन

काठमाडौँ, पुस १७। राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आधा दर्जन विदेशी कम्पनीले बोलपत्र भरेका छन् ।
जापानी सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण गरिने उक्त सुरुङमार्ग निर्माणका लागि गरिएको ‘ग्लोबल टेन्डर’ मा चिनियाँ र जापानी छ वटा कम्पनीले बोलपत्र भरेको जानकारी सडक विभाग, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्माले दिए । उनले बोलपत्र फारम भरेका कम्पनीहरुको नाम भने बताएनन् ।
उनले “टेण्डर’ भरेका कम्पनीहरुको अहिले प्राविधिक मूल्याङ्कन भइरहेको भन्दै प्राविधिक मूल्याङ्कनको ‘छोटो सूची’मा पर्ने कम्पनीहरुको आर्थिक प्रस्तावको मूल्याङ्कन गरिने सबभन्दा कम रकम प्रस्ताव गरेका कम्पनीसँग निर्माणका लागि सम्झौता गरिने बताए ।
प्रस्तावित यस सुरुङमार्ग निर्माणका लागि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र ढाँचा ९डिजाइन० यसअघि नै तयार भइसकेको छ । सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन जापान सरकारले नै गरेका हुन ।
उक्त सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र जापानी सहयोग नियोग (जाइका) सँग १६ अर्ब रुपियाँको ऋण सहयोग सम्झौताको समेत भइसकेको छ । जापानसँग ०।०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।
प्रस्तावित सुरुङमार्गको कुल लम्बाई साढे दुई किलोमीटर र चौडाई करिब १२ मिटर हुनेछ । थानकोटमा रहेको अहिलेको सडकखण्डबाट सुरुङमार्गको बाटो तल झर्ने र १५ सय मीटरको ‘अप्रोच’ बाटोपछि सुरुङमार्ग सुरु हुने जानकारी उनले दिए । सुरुङमार्गको उचाई आठ मीटर हुनेछ ।
सुरुङमार्ग तीन लेनको हुनेछ । सुरुङमार्गको तीन लेनमध्ये दुई लेन राजधानी भित्रिने हुनेछ भने एक लेन राजधानीबाट बाहिरिने सवारी साधनका लागि छुट्टयाइनेछ । सुरुङमार्ग थानकोटबाट सुरु भई धादिङको सिस्नेखोलामा निस्कनेछ । सुरुङमार्गको मर्मत सम्भारका लागि सवारी साधनबाट ‘टोल ट्याक्स’ उठाउने अवधारणा अगाडि सारिएको सडक विभागले जनाएको छ ।
सडक विभागले ‘सर्विलियन्स पद्धति’ अनुसार यो सुरुङमार्गको अनुगमन गर्नेछन् । यसका लागि सडक विभागमा एउटा अनुगमन कार्यालयको स्थापना गरिनेछ । मुलुककै पहिलो टनेल सडकको रुपमा प्रस्तावित सुरुङमार्गको निर्माण प्रक्रियालाई अगाडि बढाउन चालु आर्थिक वर्षको वजेटमा एक अर्ब ६७ करोड रुपियाँ विनियोजन गरिएको छ । यो सुरुङमार्गले अबको डेढ दशकसम्म हुन सक्ने सवारी चापलाई धान्न सक्ने विश्वास सरकारको छ ।
प्रतिक्रिया दिनुहोस्