कञ्चनपुर पुगेर प्रहरी महानिरीक्षक खनालले भने – निर्मला हत्याकाण्डमा गल्ती गर्ने सबै प्रहरीलाई कारबाही हुन्छ ‘ संलग्न व्यक्ति कुनै पनि हालतमा उम्किदैन् ‘
काठमाडौं, पुस १५ । निर्मला पन्त हत्याकाण्डमा गल्ती गर्ने सबै प्रहरीमाथि कारबाही हुने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।
आइतबार महेन्द्रनगर पुग्नुभएका प्रहरी महानिरीक्षक खनालले नागरिक समाज र पत्रकारसँगको भेटघाटका क्रममा निर्मलाको घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न प्रहरीमाथि कारबाही अगाडि बढाइएको बताएका हुन् ।
उनले माथिल्लो तहका प्रहरीमाथी विभागले कारबाही गरेको बताउँदै कार्बाहीका लागि अपराध अनुसन्धान विभागमा पत्राचार गरिसकेको बताए ।
‘उच्चस्तरीय छानबिन समिति र प्रहरीको आन्तरिक छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका प्रहरीमाथि कारबाहीका लागि हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं’, उनले भने ‘त्यसमा संलग्न देखिएका माथिल्लो तहलाई विभागले कारबाही गर्छ । तल्लो तहका कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रहरीमा पत्राचार गरेको छु ।’
उनले निर्मलाको घटना र अनुसन्धानको पाटो सबैको चासोको विषय भएको बताउँदै त्यसमा संलग्न व्यक्ति कुनै पनि हालतमा नउम्किने बताए ।
प्रहरीले घटनासँग जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएको बताउँदै अनुसन्धानमाथि विश्वास गरिदिन आग्रह समेत गरे ।
स्थानीयको सहयोग भएका प्रहरीलाई सहयोग हुने बताउँदै प्रमाण खोजेर अनुसन्धान गर्नुभन्दा प्रमाणका आधारमा अनुसन्धान गर्न प्रहरीलाई सहयोग हुने उनले बताए।
‘प्रहरी आफैले प्रमाण संकलनदेखि अनुसन्धान गर्न गाह्रो हुन्छ’, उनले भने ‘त्यसैले उसमा स्थानीय र तपाईंहरुको सहयोग आवश्यक छ ।’
उनले निर्मलाको घटनामा प्रहरीको छविमाथि नै दाग लागेको बताउँदै यसको अनुसन्धान र कारबाहीमा कुनै कसर बाँकी नराख्ने बताए ।
प्रहरी महानिरीक्षक खनाललसँगको भेटमा पत्रकार तथा नागरिक समाजका प्रतिनिधिले अनुसन्धानका क्रममा रहेका विषयलाई बाहिर ल्याएर प्रहरीले जनविश्वास गुमाएको बताएका थिए ।
निर्मलाको न्यायका लागि आन्दोलनरत नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले प्रहरीले प्रतिवेदनमा उल्लेख भएका व्यक्तिबाटै अनुसन्धानलाई अगाडी बढाउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्