लौ कहिँ नभएको जात्रा: अब यस्तो पनि ! मेयर जेलबाट छुटेको खुशीयालीमा सार्वजनिक बिदा

काठमाडौं , पुस १५ । कहिँ नभएको जात्रा, हाँडीगाउँँ भन्ने नेपाली आहान रौतहटको कहटरियामा चरितार्थ भएको छ । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरी शनिबार गृहनगर रौतहट आएका छन् ।
नगर प्रमुख जेलबाट छुटेको खुशीयालीमा रौतहतको कटहरिया नगरपालिका क्षेत्रभित्र आइतबार सार्वजनिक बिदा दिइएको छ ।
मेयर सियाराम कुशवाहले आफू जेलबाट छुटेको खुशीयालीमा नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालयलगायत बन्द गर्ने निर्णय गर्नुभएको हो ।
स्थानीय तहले पाउने अधिकारको दुरुपयोग गर्दै मेयरको लहडमा स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णयप्रति व्यापक आलोचना भएको छ ।
विश्व हिन्दु युवासंघ पर्साका संस्थापक काशी तिवारीको हत्या आरोपमा जेल परेका मेयर कुशवाह अस्ति काठमाडौँको डिल्लीबजार कारागारबाट छुट्नुभएको थियो ।
वैशाख २७ गते काठमाडौँमा पक्राउ परेका मेयर कुशवाहलाई ९ महिना कारागार बसेपछि सर्वोच्च अदालतले सफाई दिएको थियो ।
उहाँ शनिबार नेकपाका केन्द्रीय नेताहरु सहित हेलिकोप्टर चढेर गृह नगर फर्किनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्