खुशिको खबर: अब दाङको तुलसीपुर विमानस्थलमा दैनिक हवाई सेवा सञ्चालन

काठमाडौं, पुस १५। दाङको तुलसीपुर विमानस्थलमा दैनिक हवाई सेवा सञ्चालन भइरहेको छ । यसअघि सातामा ३ दिन मात्रै विमान सेवा सञ्चालन हुन्थ्यो । नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार यही पुस १२ गतेबाट तुलसीपुरमा दैनिक विमान सेवा सञ्चालन भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका र जिल्लाका सांसदहरुको पहलमा दैनिक हवाई सेवा सुरु भएपछि दाङबासी उत्साहित छन् । ‘दैनिक हवाई सेवा सञ्चालन हुनुले हामीहरु निकै उत्साहित भएका छौं,’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले भने ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले दैनिक विमान सेवा सञ्चालन हुनु सबैका लागि खुसीको कुरा भएको बताए । ‘यसले तुलसीपुरलाई आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्नेछ,’ घर्तीले भने ।
विमान सेवा नियमित भएपछि यस क्षेत्रका सर्वसाधारणहरु पनि खुसी छन् । ‘सातामा ३ पटक हुँदा चाहेअनुसार विमान सेवा लिन सकिएको थिएन अब भने आवश्यक परेको बेलामा जहाज चढ्न पाइने भयो,’ स्थानीय माधव घिमिरेले भने ।
नेपाल वायु सेवा निगमको सानो आकारको जहाजले अहिले सेवा दिइरहेको छ । इन्धन डिपो स्थापना नभएका कारण हाल विमान भाडा तुलसीपुरबाट काठमाडौं जाँदा ६ हजार ७० रुपैयाँ र तुलसीपुरबाट काठमाडौं जाँदा ५ हजार ८ सय ८० रुपैयाँ छ ।
इन्धन डिपो स्थापनाका लागि पहल भइरहेको र तत्काल अस्थायी डिपो स्थापना गरेर भाडा घटाइने प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्