काठमाडौँ, पुस १४ । काठमाडौँ उपत्यकासहित मुलुकभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद शुवास रिमालले बिहानीपख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भएपनि बिस्तारै हट्ने र दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको जानकारी दिए ।
उनका अनुसार काठमाडौँ उपत्यकामा पनि शनिबार दिउँसो घाम लाग्नेछ । शनिबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।
शुक्रबार यस वर्षकै सबैभन्दा कम १.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो ।
मौसमविद रिमालले यसवर्ष न्यूनतम तापक्रम अझै घट्ने सक्ने सम्भावना रहेको जानकारी दिए तर माइनसमै झर्ने सम्भावनाबारे अहिले नै भन्न नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्