कठाग्रिदैँ स्कुलमा बित्यो न्यौपानेबाडाका आगलागी पीडितको रात

काठमाडौं, पुस १० । जिल्लाको पलाँता गाउँपालिका–१ खाडाको न्यौपानेबाडाका आगलागी पीडितले कठाग्रिदैँ स्कुलमा बसेर रात बिताएका छन्। सोमबार बिहान भएको आगलागीमा ८७ घर जलेर नष्ट भएका खाँडा गाउँ न्यौपानेवाडाका स्थानीयले नजिकैको गणेश आधारभूत विद्यालयमा रात बिताएका हुन्।
चिसो मौसमको भएको पीडितहरुलाई नजिकैको स्कुल र नजलेका घरमा पीडितहरुले रात बिताएको वडा अध्यक्ष मानबहादुर भण्डारीले बताए।
‘लत्ताकपडा केही पनि थिएन। चिसो रात विद्यालय र नजलेका घर गोठमा रात बिताएका छन्।’ उनले भने, ‘पीडितहरुलाई अबका रात कसरी बिताउने भन्ने चिन्ता रहेको छ।’ सामूहिक खाना अग्नी पीडितहरुको परिवारहरुलाई सोमबार बेलुका र मंगलबार बिहान गणेश आधारभूत विद्यालयको फिल्डमा स्थानीय, नेपाली सेना र नेपाल प्रहरी सामूहिक रुपमा खाना बनाएर खुवाएको छ।
पानीको समस्या भएका कारणले खाद्यान्नको पनि अभाव भएकाले नजिकै घोडेना कुवाको खानेपानी ल्याएर नेपाली सेना, नेपाल प्रहरी र स्थानीय कार्यदलले सामूहिक रुपमा खाना बनाएर खुवाएको वडा अध्यक्ष भण्डारीले बताए।
‘सोमवार बेलुका र मंगलबार बिहानको खाना स्कुलमा खुवाइएको छ।’ उनले भने, ‘त्यो खाना नेपाली सेना नेपाल प्रहरी र स्थानीय कार्यदलले तयार पारेर खुवाएका हुन्।’ ४ हेलिकप्टर राहत सामग्री पुग्यो नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार मंगलबार बिहान गरी ४ हेलिकप्टर राहत सामग्री पुगेको छ।
राहत सामग्रीमा त्रिपाल, खाद्यान्न, भाडाकुडा र तत्ताकपडा रहेको त्यो राहत सामग्री मंगलबार पीडितको परिवारको नामावली र अवस्था हेरेर वितरणको तयारी भएको वडा अध्यक्ष भण्डारीले बताए। ‘राहत सामग्री वितरणका लागि अहिले हामी नामावली तयार गर्दै छौं।’ उनले भने,‘आजबाट वितरण शुरु हुन्छ।’
प्रतिक्रिया दिनुहोस्