निजगढ विमानस्थलको काम तीन चरणमा हुँदै , ७० प्रतिशतसम्म तार घेर्ने कार्य पूरा

काठमाडौँ, पुस १० । बाराको निजगढमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको कार्य अहिले तीन चरणमा भइरहेको आयोजनाले जनाएको छ । १४ किलोमिटरभित्रमा तारबार गर्ने ठेकेदारले अहिलेसम्म ८०३ मिटरको कार्य सम्पन्न गरेको आयोजना प्रमुख ओम शर्माले बताएका छन्।
यसैगरी, धावन मार्ग निर्माणका लागि चार किल्लाभित्रको रुख कटान गर्ने बाटोको दुवै साइड गरी ६३ किलोमिटर अस्थायी तारबार घेराउ कार्य भइरहेको पनि प्रमुख शर्माले जानकारी दिए। तारबार गर्नुपर्ने सबै एरियामा पिलर गाड्ने कार्य सम्पन्न भएको तथा ७० प्रतिशतसम्म तार घेर्ने कार्य पूरा भएको छ ।
यसैगरी, विमानस्थल आयोजनाको पश्चिमतर्फ रहेका पसाहा खोला डिल नियन्त्रणको कार्य अन्तिम चरण पुगेको जनाइएको छ । पसाहा खोलामा बोल्डर राखेर आठ हजार सात सय क्युबिक मिटर तटबन्ध निर्माण कार्य भइरहेको आयोजना प्रमुख शर्माले बताए ।
आयोजनाको मुख्य चुनौती भने हजार बिघामा रहेको टाँगिया बस्ती स्थानान्तण रहेको उनले बताए । उनीहरूलाई बसोबास मिलाउन कलैया, निजगढ र जीतपुर सिमरामा रहेको ऐलानी तथा निजी जग्गामा बसोबासको व्यवस्था मिलाउने कार्य अघि बढेको शर्माले जानकारी दिए ।
आयोजनाभित्रमा पर्ने ११० बिघा जग्गामध्ये ६० बिघा जग्गा नागरिक उड्डयन प्राधिकरणको नाउँमा दर्ता समेत भइसकेको छ । सो जग्गाको मुअब्जाबापत रकम ३८ करोड रुपियाँ वितरण भइसकेको कार्यालयले जनाएको छ । ५० बिघा जग्गाको मुअब्जा दिन बाँकी छ ।
पेरिमिटर सडक तथा फेन्सिङ निर्माणको लागि ठूलासाना गरी चार हजार २३२ रुख, बिरुवा कटान गर्नुपर्ने र सो रुख, बिरुवाको लागत तयार गर्न जिल्ला वन कार्यालय सिमरा बारामा पठाइएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तथा मास्टर प्लान तयार पार्न अन्तर्राष्ट्रियस्तरका छ वटा परामर्शदाताको आशय पत्र स्वीकृत भई प्रस्ताव प्राप्तको मूल्याङ्कनको कार्य अगाडि बढाइएको छ ।
२०७३ फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पहुँच मार्ग, पेरिफेरी सडक निर्माण र रुख कटानसम्बन्धीको कार्य नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको र सो कार्य गर्न सेनासँग मिति ०७४ भदौ १९ गते सम्झदारी पत्रमा हस्ताक्षर भइसकेको आयोजना प्रमुख शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्