मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि

काठमाडौं, पुस १० । चीनसँग व्यापारीक कारोबार बढाउनका लागि निर्माण गरिएको मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि सुरु गरिने भएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्नु परेकाले स्तरोन्नतीको काम ढिलाइ भएको हो । नेपाली सेनाले निर्माण गरेको १७ किलोमिटर सडक गएको जेठमा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनालाई हस्तान्तरण गरिएको थियो ।
गएको असारमा निर्माण गरिएको डिपिआर पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गरिएको हो । संशोधन गर्न बढी समय लागेको कारण ट्रयाक खोलिएको सात महिनासम्म स्तरोन्नतीको काम सुरु हुन नसकेको हो ।
डीपीआर संशोधनको काम सकिएको र टेन्डर प्रक्रिया सुरु गरिएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताउनुभयो । स्तरोन्नतीको काम सक्न करिब २ वर्ष लाग्ने उहाँको भनाइ छ । स्तरोन्नतीको काम नसकिँदासम्म सार्वजनिक यातायातको साधन सञ्चालन गर्न नदिने योजनाले जनाएको छ ।
यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
प्रतिक्रिया दिनुहोस्