नेपाली क्रिकेट खेलको परिचयात्मक कार्यक्रम: कप्तान पारस खड्का ,दिपेन्द्र ऐरी र सुबाश प्रधान अस्ट्रेलिया प्रस्थान

काठमाडौं, पुस १० , । एक्सपर्ट एजुकेशन र भिषा सर्भिसेजले अस्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिसबेन र एडिलेड शहरमा आयोजना गर्ने नेपाली क्रिकेट खेलको परिचयात्मक कार्यक्रममा सहभागिताका लागि कप्तान पारससहित राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी र सुबास प्रधान सोमबार राती अस्ट्रेलिया प्रस्थान गरेका छन्।
‘अस्ट्रेलियामा नेप्लिज क्रिकेट ग्रुपसँग अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन्,’ अस्ट्रेलिया भ्रमणको उदेश्य बताउँदै पारसले भने, ‘अन्तिम पटक म २०१५ मा अस्ट्रेलिया जादा त्यहाँ निकै राम्रो नेपाली क्रिकेटको माहौल पाएको थिए। केही नेपाली खेलाडीहरु पनि क्लब लेभलमा राम्रो खेलिरहेका छन्।’
अस्ट्रेलियामा नेपाली क्रिकेटरहरुले डिसेम्बर ३० मा मेलबर्न, जनवरी ५–६ तारिखमा सिड्नी, जनवरी १० तारिखमा ब्रिसबेन र जनवरी १२ तारिखमा एडिलेडमा अन्तक्रिर्यात्मक कार्यक्रम गर्नेछन्। अस्ट्रेलियाको राष्ट्रिय खेल क्रिकेट भएकाले त्यहाँको क्रिकेटसँग सम्बन्ध स्थपित गर्नु आफूहरुको उदेश्य रहेको पारसले बताए।
‘अस्ट्रेलियन क्रिकेटसँग दुई चार वर्षयता हाम्रो राम्रो सम्बन्ध पनि छ। माइकल क्लार्कका माध्यमबाट सन्दीप लामिछानेले पनि एक्सोजर पाएका छन्। हामी भ्रमणका क्रममा क्लार्कलाई पनि भेट्ने प्रयास गर्नेछौं,’ पारसले भने,
‘पोखरा प्रिमियर लिगका बेला पनि हामीले उनलाई बोलाएका थियौं। तर, दुर्भाग्य उनको समय मिलेन्। आशा गरौं, यसपटक उनीसँग भेटेर क्रिकेट अस्ट्रेलियासँग कस्तो सम्बन्ध स्थापित गर्न सकिन्छ भन्नेमा छलफल हुनेछ।’
पारसले भ्रमणबाट अस्ट्रेलियाका क्रिकेट सरोकारवालाहरुबाट नेपाली क्रिकेटलाई हुनसक्ने सहयोग खोजिने आशा व्यक्त गरे। यस्तै उनले त्यहाँका क्लबहरुसँग आगामी दिनमा नेपाली खेलाडीहरुलाई एक्सोजर दिन सकिने विषयमा पनि केन्द्रीत हुने बताए।
प्रतिक्रिया दिनुहोस्