काठमाडौं, पुस ५ । जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् ।
बैतडीको मेलौली नगरपालिका–२, घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको बुधबार राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जाडोका कारण कोठामा मक्कलमा आगोका कोइला राखेर ढोका थुनेर सुतेका आमा छोरा बिहीबार बिहान निसास्सिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई उपक्षेत्रीय अस्पताल पु¥याइएको थियो । अस्पतालले छोरा विनोदको अस्पताल पुर्याउनुभन्दा झण्डै ६ घण्टा अगाडि नै मृत्यु भएको जनाएको छ ।
डडेल्धुरा सदमुकाम नजिकै रहेको वैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ । मृतक भट्टका बुबा कामको सिलसिलामा विदेशमा छन् ।
आमालाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रिफर गरिएको छ । अमरगढी नगरपालिका–५, डडेल्धुरा पेनेसिया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत हीरा भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्