चिसोले कठ्याङ्ग्रीएर सप्तरीमा एकजनाको मृत्यु, शीतलहरका कारण धनुषाको जनजीवन प्रभावित

काठमाडौं, पुस ५ । अत्याधिक चिसोका कारण सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न। ५ पातोमा एकजनाको ज्यान गएको छ । चिसोले कठ्याङ्ग्रीएर स्थानीय बालेश्वर मण्डलको ज्यान गएको हो । सुतिरहेको अवस्थामा बुधबार राति मण्डलको ज्यान गएको उनको परिवारले बताएका छन् ।
बढेको चिसो र शीतलहरका कारण सप्तरीसहित तराइको अन्य जिल्लाका अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी बढेका छन् ।
सिरहा सदरमुकाममा रहेको जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
चिसोले बालबालिका र वृद्धवृद्धालाई प्रभाव पारेको छ । चिसो बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि घटेको छ । चिसोले बिरामी परेका दैनिक २० देखि २५ सम्म उपचारका लागि आउने गरेको सिरहा जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् ।
चिसोको कारण बजार क्षेत्रका सर्वसधारण आगो तापेर बस्न थालेका छन् । यसैबीच सप्तरीका १८ वटै स्थानीय तहले चिसोबाट जोगिनका लागि ठाउँ ठाउँमा दाउरा वितरण गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकरयादव मनोजले जानकारी दिनुभयो ।
शीतलहरका कारण धनुषाको जनजीवन प्रभावित
शीतलहर र चिसो हावाका कारण धनुषाको जनजीवन प्रभावित बनेको छ ।
चिसोका कारण जाडो बढेसंगै सदरमुकाम जनकपुरधाममा सर्वसाधारणको चहलपहलमा कमी आएको छ ।
जाडोले विद्यार्थी, बृद्धबृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्‍याएको छ । सर्वसाधारणकोे दैनिकी प्रभावित बनेको छ ।
सर्वसाधारणले चिसो छल्न ठाउँठाउँमा आगो तापेर दिन बिताइरहेका छन् ।
बाक्लो हुस्सुले राजमार्गलगायत सडकमा नजिक देख्न पनि कठीन हुँदा सवारी संचालनमै गाह्रो भएको छ ।
शीतलहर र बाक्लो हुस्सुकै कारण सवारी दुर्घटना बढ्न थालेको छ । चिसोका कारण जनकपुर अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ ।
यता, हिमाली जिल्ला मनाङमा अत्याधिक चिसोको कारण विद्यालयहरु बन्द भएका छन् । छिटो छिटो बार्षिक परिक्षा सकाएर विद्यालय बन्द गरिएका हुन् ।
माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमिको नार र फूका विद्यालयहरु बन्द गरिएका हुन् ।
यस्तै तल्लो मनाङको नासों र चामे गाउँपालिका विद्यालयहरु पनि बन्द भएका छन् ।
चिसो बढेकाले शिक्षकहरु विद्यालय बन्द गरेर घर हिँडेका छन् भने विद्यार्थीहरु अभिभावकसँगै बेंसी झरेका छन् ।
प्रतिक्रिया दिनुहोस्