बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी, यसरी खुल्यो रहस्य

काठमाडौँ , पुस ४ । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरूले ६८ करोड रुपैयाँ राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रहरीका अनुसार उनीहरूले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर, एक रुपैयाँ पनि कर तिरेका थिएनन् । ‘कर छलीकै उद्देश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘छानबिनमा तानिएमा आफूहरू जोगिने उद्देश्य उनीहरूको देखिन्छ।’ ठगीमा सरकारी कर्मचारीहरूको पनि मिलेमतो रहेको आशंका प्रहरीले गरेको छ।
यसरी खुल्यो रहस्य
आन्तरिक राजस्व कार्यालयले कम्पनीधनीलाई कर तिर्न भन्दै पत्राचार गरेपछि घटना बाहिर आएको हो । खोल्दै नखोलेको कम्पनीको कर तिर्न पत्र आएपछि नागरिकताधनी अचम्मित भएका थिए । पछि बुझ्दा उनकै नागरिकताका आधारका कम्पनी स्थापना भएको पत्ता लाग्यो । आफूले कम्पनी नै नखोलेको बताएपछि छानबिन हुँदा उनको हराएको नागरिकताका आधारमा कम्पनी दर्ता गरिएको खुलेको हो।
इन्स्योरेन्सका कर्मचारीहरू पक्राउ
नक्कली बिमालेखा जारी गरी विदेश जाने कर्मचारीलाई ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका चार कर्मचारीसहित ६ जना पक्राउ परेका छन् । सिआइबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले वैदेशिक रोजगारीमा गएका धेरैको नक्कली बिमा पोलिसी जारी गरी ठगी गरेको खुलेको छ।
प्रतिक्रिया दिनुहोस्