रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा
एजेन्सी । मैदान प्रवेश गरेको मिनेट नबित्दै ग्यारेथ बेलले निर्णायक गोल गरेपछि रियल म्याड्रिड क्लब विश्व कपको फाइनल प्रवेश गरेको छ । दुबईको अल जजिरालाई २–१ ले हराउँदै रियल फाइनल पुगेको हो । रियलले फाइनलमा ब्राजिलको ग्रेमियोको सामना गर्नेछ ।
पहिलो हाफमा १–० ले पछि परेको रियलले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलको गोलमा वापसी गर्दै जित हासिल गरेको हो । खेलको ४१ औं मिनेटमा रोमारिन्होको गोलमा जाजिराले अग्रता लिएको थियो । रियलले पोसेसनमा नियन्त्रण राक्दै १७ प्रहार गरेपनि कासेमेरोको गल्तीको सदुपयोग गर्दै २७ वर्षीय ब्राजिलियन स्ट्राइकरले गोल गरेका थिए ।
दोस्रो हाफमा घरेलु टोलीले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई अस्विकार गर्यो । बारक बोसौफा अफसाइड भएका कारण अल जजिराको दोस्रो गोल स्वीकार्य रहेन । ५३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै बराबरी दिलाए । लुका मोड्रिकको थ्रु बललाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरे ।
रियलले निर्णायक गोल गर्ने प्रयासमा थप दबाब दिँदै गर्दा ८१ औं मिनेटमा बेन्जेमालाई परिवर्तन गर्दै मैदान प्रवेश गरेका बेलले मिनेट नबित्दै पहिलो टचमा गोल गरे ।
प्रतिक्रिया दिनुहोस्