म्यानमारविरुद्ध नेपालको उत्कृष्ठ ब्याटिङ्ग, कप्तान रितको शतक

काठमाडौं । थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता नेपालले समूह चरणको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ । म्यानमार विरुद्धको खेलमा कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ ।

अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलको तयारीका रुपमा पनि लिन सकिन्छ । माथिल्लो क्रममा ब्याट्सम्यानले उच्च प्रदर्शन गरेपछि नेपालले ३ सय माथि रन जोडेको थियो । पाँचौं विकेटका लागि कप्तान रित र त्रितराज दासले ९९ रनको ठूलो साझेदारी गरेका थिए । ७८ बल खेलेका रितले १२ चौका साथ अविजित १ सय ६ रन जोडे ।

त्रितराजले पनि अर्धशतक पुरा गरे । मात्र २९ बल खेलेका त्रितराजले ७ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । विशाल विक्रम केसीले ४२ बलमा ७ चौकासहित ४२, ओपनर कुशल मल्लले २३ बलमा ३ चौका र त्यत्तिनै छक्कामा ३६ रन तथा सुवास ऐरले १७ रन जोडेका थिए ।

समूह ‘ए’मा नेपालले दुवै खेल जित्दा म्यानमारले दुवै खेल हारेको छ । म्यानमार प्रतियोगिताबाट बाहिरिसकेको छ । आयोजक थाइल्यान्डलाई पहिलो खेलमा १ सय ३३ रनले हराएको नेपालले अर्को हङकङलाई ४ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्