काठमाडौं, पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीमा लुट्ने कुरालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।
मंगलबार अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवसको अवसरमा श्रम तथा रोजगार मन्त्रालयको आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले अदृश्य, अपारदर्शी र गैरकानुनी कामलाई कुनै पनि हालतमा स्वीकार नगरिने बताएका हुन् ।
उनले आमजनताको हितमा सुधार गरिने काम रोक्न कुनै पनि प्रकारका अदृश्य शक्तिका प्रयत्नको कुनै मूल्य र औचित्य नहुने दाबी गरेका छन् ।
सरकार दृढ रुपले काम गर्न लागिपरेको भन्दै उनले भने, ‘सरकार नेपाली जनताहरुका, युवाहरुका र श्रमिकहरुका लागि गरिने सुधारका कामहरुलाई प्रभावकारी बनाउन अगाडि बढ्नेछ । कहिलेकाँही सुधारका प्रयत्न रोक्नका लागि दबाब दिने, दंगा गर्ने जस्ता द्वन्द सिर्जना गरिनेछन् । तर यो मिल्थ्या प्रयन्त मात्रै हो । यसको कुनै अर्थ रहँदैन ।’
राष्ट्रको हितमा गरिने काम कुनै पनि प्रकारका षड्यन्त्रले रोक्न नसक्ने बताउँदै आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्या्दित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरेको पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्