आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईंदै , प्रधानमन्त्रीको शुभकामना सन्देश यस्तो छ

काठमाडौं, पुस ३। आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि मनाईंदैछ । दिवसको अवसरमा श्रमको सम्मान : राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगार : आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम हुँदैछन् ।
सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो ।
अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तराष्ट्रिय स्तरमा आप्रवासीको सङ्ख्या बढ्दै गएको छ ।
राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको बताए ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
त्यसका लागि स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेशमै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रियाशील रहेको प्रधानमन्त्रीले बताएका छन्
प्रतिक्रिया दिनुहोस्