सोमालियामा अमेरिकी सेनाले गरेको कारवाहीमा ६२ लडाकूको मृत्यु Jagaran News Published On : 18 December, 2018 2:54 am काठमाडौँ , पुस ३ । अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाले शनिबार गरिएको चार वटा हवाई हमलामा ३२ जना र आइतबार गरिएका दुई वटा हवाई हमलामा २८ जना लडाकूको मृत्यु भएको जनाएको छ । अमेरिकी सेनाले हमलामा सर्वसाधारण भने कोही पनि नपरेको दाबी गरेको छ । अमेरिकाले सन् २०१७ को नोभेम्बरदेखि सोमालियाका लडाकूविरुद्ध कारबाही चलाउँदै आएको छ । अहिलेसम्म कम्तिमा १ सय जना लडाकू मारिएको अमेरिकी सेनाले जनाएको छ । तर, ब्यूरो अफ इन्भेस्टिकेसन जर्नालिजमको तथ्यांक अनुसार सन् २०१७ को सुरुदेखि हुन थालेको हमलामा कम्तिमा ४ सय मानिस मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा अमेरिकी सेनालाई सोमालियाका चरमपन्थीविरुद्ध आक्रमण गर्न आदेश दिएका थिए । सन् १९९३ मा मोगादिसुमा चरमपन्थीसँगको भिडन्तमा १८ जना अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका र सोमालियाबीच संयुक्त सैन्य कारबाही सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्