काठमाडौं , पुस २ । देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ ।
सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् ।
यसै क्रममा पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे छ किलोमिटरसम्म स्ट्रिटसोलार लाइट (सडक सौर्य बत्ती)जडान गरेपछि त्यस भेगका करीब २० हजार जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७४र७५ को योजनाअन्तर्गत छिपहरमाई गाउँपालिकाको वडा नं १ देखि ५ सम्म भिस्वा, जयमङ्गलपुर, टिहुकी, मलमैया हुँदै मिर्जापुरसम्म करीब साढे छ किलोमिटर स्ट्रिटसोलार लाइट जडान गर्ने लक्ष्य रहेकामा पहिलो चरणमा ४० लाइट जडान गरिएको छ ।
‘प्रतिलाइट रु एक लाख पाँच हजार ३०० का दरले हाल रु ४२ लाख १२ हजार लागतमा ४० लाइट जडान गरिएको छ,’ छिपहरमाई गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले भने, ‘बाँकी ४० लाइट दोस्रो चरणको कार्यक्रमअन्तर्गत जडान गरिनेछ ।’
भिस्वा बजारबाट पश्चिमी पर्साको भारतीय सीमासँग जोडिएको गाउँसम्म मानिसलाई रातको समयमा आवतजावत गर्न अप्ठ्यारो हुँदा लाइट जडान भएपछि राति अबेरसम्म मानिस सुरक्षित हिँडडुल गर्न सजिलो भएको वडा नं ३ का वडाध्यक्ष विनोदप्रसाद कानुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्