नेपाललाई बडिविल्डिङमा ऐतिहासिक सफलता, स्वर्णपदक जित्दै महेश्वर बने विश्वविजेता

काठमाडौ, पुस १। नेपाललाई बडिविल्डिङमा ऐतिहासिक सफलता प्राप्त भएको छ । थाइल्यान्डको चाङमईमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स् प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्रा्ष्ट्रिय सफलता हो । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन्।
समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए । भारतका जयप्रकाश दोस्रो त्यस्तै सिंगापुरका खेलाडी तेस्रो भएका थिए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भए ।
महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालीको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए । थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१० औं विश्व बडीविल्डिङ फिजिक स्पोर्ट्स् च्याम्पियनसीप’ मा नेपालबाट मानन्धरसहित दुई खेलाडीले भाग लिएका थिए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा १७० सेन्टिमिटर उचाई समुहमा बिमल श्रेष्ठले भाग लिएका थिए । उनी ७ राष्ट्रको समुहमा चौंथो भए ।
एसियन च्याम्पियनसीपमा गोल्ड मेडल जितेको आधारमा एसोसिएशनले थाइल्यान्डमा महर्जनलाई पठाउने निर्णय गरेको थियो । यसका लागि ६ महिनादेखि उनले तयारी गरिरहेका थिए ।
नेपाल बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएशनका उपाध्यक्ष दिनेश राजभण्डारी बडी बिल्डिङको तयारी भनेको जिम गर्ने मात्र होइन । यसमा खानपानमा नियन्त्रण सबैभन्दा प्रमुख कुरा हो । महर्जनले ६ महिना अगाडिदेखि नून खान छोडेका थिए । नूनले तौल बढाउने र डिहाइड्रेसनसमेत हुने गरेकाले प्रतियोगिताभन्दा धेरै अगाडिदेखि नून खान नहुने समेत बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्