३३ किलो सुनसहित भारतमा दुई नेपाली पक्राउ

भारतीय अधिकारीहरुले पश्चिम बंगालको धनकुनीमा ३३ किलो सुनसहित २ नेपालीलाई पक्राउ गरेका छन्।भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार गत शुक्रबार उक्त सुन स्फ्टि कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भइरहेको थियो। कारबाट सुनका ३३ वटा बिस्कुट बरामद भएको हो ।

भारतीय राजस्व अनुसन्धान विभागले सुनसहित इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मालाई पक्राउ गरेको छ । कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा भारतीय पक्षले पत्राचार गरेपछि घटना बाहिर आएको हो। भारतीय अधिकारीहरुले बरामद सुन र नेपाली नागरिकका विषयमा जानकारी गराएका थिए । सुन नेपालबाट भित्रिएको हुनसक्ने भारतीय पक्षको जानकारीपछि नेपालका अधिकारी समेत अनुसन्धानमा जुटेका छन् । विभागले सुन नेपाल भएर तस्करी भएको आशंकापछि नेपाली पक्षलाई जानकारी दिएको हो।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भएर २०७४ माघको पहिलो साता भित्रिएको साढे ३३ किलो सुन हराईरहेको छ । नेपाली अधिकारीहरुले भारतमा बरामद भएको सुन नेपालबाट हराएको हुनसक्ने भन्दै अनुसन्धान थालेका हुन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्